संसद् अवरुद्धले व्यवस्थाप्रति वितृष्णा : लेखक

महेन्द्रनगर— नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् चल्न नदिँदा व्यवस्थाप्रति वितृष्णा पैदा हुनसक्नेतर्फ प्रमुख प्रतिपक्षी दललाई सचेत गराएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा बुधबार आयोजित कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को प्रथम प्रदेशस्तरीय सम्मेलनमा प्रमुख सचेतक लेखकले प्रतिपक्षी दल नेकपा एमालेलाई जिम्मेवार भएर मुलुकलाई निकास दिन आग्रह गरे ।
‘संसद् खुलाउने विषयमा शीर्ष तहदेखि विभिन्न तहमा वार्ता र संवाद हुँदासमेत संसद्को अवरोध हटाउनेतर्फ प्रतिपक्षी गैरजिम्मेवार भयो’, नेता लेखकले भने,‘साउन सकिन लाग्दासम्म संसद् सञ्चालन नहुनुले मुलुकलाई क्षति पुग्ने अवस्था छ ।’
सदनमा हुँदा विघटन गर्ने र प्रतिपक्षमा हुँदा अवरोध गर्ने एमालेको कुरा राम्रो नभएको लेखकको भनाइ छ । त्यसैगरी उनले मुलुक एउटा विशिष्ट राजनीतिक अवस्थामा मुलुक रहेको बताए ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० २१:४२













