News Griha :: न्यूजगृह
बेनी–जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द

म्याग्दी— मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ ।

कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले बुधबार सूचना जारी गरेर सडकमा ढुंगा, पहिरो खस्ने र नदी किनारमा धाँजा फाटेर जोखिम हुने भएकाले वर्षायामभर रातको समयमा गलेश्वर–दाना खण्डमा यातायात सञ्चालन नगर्न अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पहिरो र कटानका कारण दुर्घटनाको जोखिम देखिएकाले रातको समयमा यातायात बन्द गरिएको बताए ।  

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १९:२१
Weather Update