
मकवानपुर— बाग्मती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई शिक्षकहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
लामो समयदेखि आन्दोलनरत उनीहरूले शिक्षासम्बन्धी कानुन (शिक्षा ऐन) संशोधन गर्न माग गर्दै मन्त्री मोक्तानलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका सचिव महमद समीमसहितको टोलीले मन्त्री मोक्तानलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
मन्त्रिपरिषदमा विचाराधीन शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक कुनै पनि सरोकारवालाहरूसँग छलफल र परामर्शबिना नै तयार गरेको, विधेयक मस्यौदामा विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्था त्रुटिपूर्ण रहेकोले सच्याउनका लागि माग गरिएको हो ।
विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावकको कुनै पनि सहभागिता संलग्नता र भूमिका नरहने गरी विधेयक मस्यौदा तयार भएको बुझिएकोले उक्त विधेयकको व्यवस्थाप्रति विद्यालय व्यवस्थापन समिति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सच्याउनका लागि माग गरिएको हो ।
वडा अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने विधेयकको उक्त व्यवस्थाबाट सामुदायिक विद्यालयको मर्म माथि प्रहार भएको, विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावक तथा समुदायको सहभागिताको अधिकार हस्तक्षेप भएको,सामुदायिक विद्यालय अभिभावक,समुदायको हातबाट खोसिएकों र समग्र सार्वजनिक शिक्षा प्रणालीलाई नै कमजोर बनाउने खेल भएकोमा विरोध जनाएका हुन् ।
उनीहरू यसका विरुद्धमा सरोकारवाला निकायमा धर्ना तथा ध्यानाकर्षण कार्यलाई जारी राखेका छन् ।













