News Griha :: न्यूजगृह
मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं— रुपन्देहीको मर्चवारी गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित ७ जनाविरुद्ध १३ लाख ४५ हजार रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार अर्यालविरुद्ध आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न भएका वडा नं.३ मा गरिएका विकास निर्माणका कामहरू, मर्चवारी गाउँपालिकामा सौर्य ऊर्जा प्रविधि जडान कार्य, वडा ६ र ७ मा भएका विकासका कामहरूमा सो रकम भ्रष्टाचार गरेको आरोप लागेको हो ।

तत्कालीन प्रशासकीय अधिकृत अर्यालसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पवनकुमार अर्याललाई १३ लाख ४५ हजार रुपैयाँ भ्रष्टाचारको आरोप छ ।

आयोगका अनुसार वडा सचिव गुलाव यादवलाई २ लाख रुपैयाँ, तत्कालीन वडा अध्यक्ष नारायणबहादुर यादवलाई ५ लाख, प्रोपाइटर विनोदबाबु तिवारीलाई ८५ हजार, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजनलाई ३ लाख ६० हजार र प्रोपाइटर अमरीश यादवविरुद्ध दुई लाख रुपैयाँ भ्रष्टाचार आरोप लागेको छ ।

आरोपितमाथि भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी लिई बुधबार विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १७:५९
Weather Update