News Griha :: न्यूजगृह
‘एकतालाई बिथोल्नेहरू माओवादीभित्रै’
केही हप्ता अघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पूर्वमाओवादीहरूको बैठक । फाइल तस्बिर ।

काठमाडौं— नेकपा माओवादी (समाजवादी) ले माओवादी पार्टीहरूबीच पार्टी एकता गर्नुपर्नेमा जोड दिएको छ ।

शनिबार आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ ले नेत्रविक्रम ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बाँस्तोता नेतृत्वको नेकपा बहुमत र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलगायत पूर्वमाओवादीहरूबीच एकतामा जोड दिए ।

दश वर्षसम्म सँगै जनयुद्ध लडेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डोहोर्‍याएका माओवादीका नेता अहिले विभिन्न पार्टीमा विभाजित भएका छन् ।

पछिल्लो समयमा भने पूर्वमाओवादीबीचको एकताबारे छलफल चलिरहेको छ । अध्यक्ष बुढाथोकीले भने,‘देशको युगान्तकारी परिवर्तनको संवाहक माओवादी विभिन्न समूहमा विभाजन हुँदा उसको योगदन र एजेन्डाहरू संस्थागत हुनसकेको छैन, अब योगदानलाई संस्थागत गर्नका निम्ति पनि माओवादीहरू सबै एक ठाउँमा आउनुपर्ने अहिलेको आवश्यकता छ ।’ उनले माओवादी शक्तिबीचको बृहत् एकतालाई बिथोल्नेहरू माओवादीभित्रै रहेको आरोपसमेत लगाए ।

सो पार्टीका स्थायी समिति सदस्यद्वय दीपक जंगम र कृष्ण खड्का, निर्माण व्यवसायी संयोजक मदन ढकाल र पोलिटब्यूरो सदस्य सुभाष लामाले माओवादीहरू विभाजित भएका कारण परिर्वतनका मुद्दा संस्थागत हुन नसकेको तर्क गरे । नेकपा माओवादी (समाजवादी) ले शनिबार १८ वटा जनवर्गीय संगठनका नेतृत्वहरूको घोषणा पनि गरेको छ ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  २०:४१
Weather Update