
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच शीतल निवासमा बुधबार भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीति र संसद् गतिरोधबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा निराशा बढ्ने र संसद्प्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका थिए ।
सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले साउन १० देखि संसद् अवरुद्ध गरिरहेको छ । प्रमुख राजनीतिक दलहरूबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन । राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव पनि दिएका पनि पोखरेलको भनाइ छ । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।
राष्ट्रपति पौडेलले साउन २५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि संसद्को गतिरोधका विषयमा छलफल गरेका थिए ।













