दाङ— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनमा केन्द्रित रहेको बताएकी छन् ।
बुधबार बिहान घोराहीमा सञ्चारकर्मीहरूसँग उनले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताइन् । भ्रष्टाचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्नेमा शर्माले जोड दिइन् । ‘सरकारले सुन तस्करी, भुटानी शरणार्थीलगायत अन्य भ्रष्टाचारका घटनामा अनुसन्धानलाई जसरी अगाडि बढाएको छ, यसमा सबैको साथ र सहयोग आवश्यक छ,’ उनले भनिन् ।
सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले यस्ता गम्भीर विषय सञ्चारमाध्यमले उजागर गरेकाले सरकारलाई थप अनुसन्धान गर्न सहयोग पुगेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमको प्रशंसा गरिन् । ‘भ्रष्टाचारको विषयमा सरकार गम्भीरतापूर्वक लागेको छ,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने भन्नुभएको छ । अनुसन्धान निष्कर्षमा पुर्याउने छौँ ।’
सामाजिक सञ्जाल नियमनका लागि कानूनबमोजिम निर्देशिका तयार गरिरहेको उनको दाबी थियो ।













