
काठमाडौं— संसद्को जारी अवरोध खुलाउन सत्ता गठबन्धनले एमालेसहितका दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ ।
बुधबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध पार्दै आएको छ । तर, सत्ता गठबन्धनले न्यायिक छानबिन समिति गठनको आवश्यकता नभएको निष्कर्ष निकालिसकेको छ।
स्रोतका अनुसार बैठकमा ललिता निवास जग्गा प्रकरणका सन्दर्भमा सर्वोच्च अदालतले दिएको आदेशबारे पनि छलफल भएको थियो ।













