News Griha :: न्यूजगृह
जहाजको पर्खाइमा चार बालकले ज्यान गुमाए

हुम्ला— दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ ।

खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रेफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन् । 

जिल्लाको एक मात्र सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा बिरामी मर्कामा परेका छन् । सिमकोट गाउँपालिका– ६ माथिल्लो गाउँका ६ महिनाका इमरान सुनार, सिमकोट– ७, डाँडाफयाका सात महिनाका रोहित शाही, खार्पुनाथ– १ लालीका १७ महिनाका आर्यन परियार र चङ्खेली– ४ का पाँच महिनाका बालक सन्देश लुवार उपचार अभावमा ज्यान गुमाएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् । ‘हवाई सेवा प्रभावित हुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र लैजान सकिएको छैन,’ उनले भनिन् । 

नागरिक उड्डयन प्राधिकरणले हिमाली जिल्लामा मध्याह्न साढे १२ बजेपछि उडान गर्न नपाइने नयाँ नियम लागू गरेसँगै हुम्लामा हवाई सेवा नियमित छैन । बर्खाको बेला हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमानुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामीलगायत अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्नेहरू बढी समस्यामा परेका छन् । 

जिल्ला अस्पतालले उपचार हुन नसक्ने भन्दै रेफर गरेका ६ महिनाका इमरानको जहाज उडान नियमित नहुँदा उपचारका जिल्लाबाहिर लैजान नसक्दा मृत्यु भएको बालकका बुबा सिमकोट गाउँपालिका– ६ का सुरज सुनारले गुनासो पोखे । आर्थिक अवस्था कमजोर तथा हवाई सेवा सञ्चालन नहुँदा छोरा गुमाउनु परेको उनले बताए। 

अस्पतालका चिकित्सक डा. रोशन रावतका अनुसार सुनारलाई साउन १७ गते उपचारका लागि अन्यत्र लैजान सिफारिस गरिएको थियो । निमोनिया भएपछि उनलाई साउन १४ गते अस्पताल भर्ना गरिएको थियो । ‘बालकमा निमोनिया, झाडापखालालगायत समस्या थियो, यहाँ उपचार सम्भव भएन,’ उनले भने । 

सुनारको साउन २६ गते अस्पताल मै मृत्यु भएको हो ।  

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ११:२१
Weather Update