घुस लिएको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिकाका २ जना कर्मचारी पक्राउ

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत दुई कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कम्प्युटर अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । अख्तियारका अनुसार वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेका हुन् ।
सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी दिएबापत उनीहरूले घुस लिएको दाबी अख्तियारको छ । उनीहरूविरुद्ध अख्तियारको इटहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० ११:१२













