सरकार विस्तार
कोशी प्रदेश : कांग्रेसका ज्येष्ठ सदस्य मण्डल कृषि राज्यमन्त्री बने

काठमाडौं— नेपाली कांग्रेसबाट कोशी प्रदेश सरकारमा गयानन्द मण्डल कृषि राज्यमन्त्री बनेका छन् ।
मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मन्त्री नियुक्त गरेका हुन् । मण्डलले बुधबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् । मण्डल कोशी प्रदेश सभामा ज्येष्ठ सदस्य हुन् । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद छन् ।
योसँगै कोशी प्रदेश मन्त्रिमण्डलको संख्या ६ पुगेको छ ।
सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएसँगै गठबन्धनको बहुमत पुगेपछि कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । थापाले भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्छ । प्रदेशसभाको बैठक भदौ १ गते बोलाइएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० १०:२८













