News Griha :: न्यूजगृह
गर्मीले सास्ती, १६ दिनदेखि बिजुली छैन

टीकापुर— कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास ।

वर्षा हुनेबित्तिकै बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, कीरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला ? सहजै अनुमान गर्न सकिन्छ । 

जानकी गाउँपालिका– ६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन । साउन १५ गते ट्रान्समिटर पड्‌किँदा जगतपुर गाउँका सयौँ परिवार बिजुलीबाट वञ्चित भएका हुन् । बर्खाको समयमा विद्युत् सेवा नहुँदा अन्धकारमा बस्न बाध्य भएको र दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् । बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको नन्दबहादुर न्यौपानेले बताए । ‘राति अँध्यारोमा सर्प, कीराको डर रहन्छ, त्यसैमाथि गर्मीले सुत्न सकिँदैन,’ उनले भने, ‘१६ दिन बित्दा पनि बत्ती आउने कुनै टुङ्गो छैन ।’ 

बिजुली नभएपछि सबैभन्दा बढी समस्या बालबालिका र वृद्धवृद्धालाई भएको छ । ‘मेरा साना दुई बच्चा छन् । रातभरि सुत्न सक्दैनन्, रातभरि गर्मीले छटपटाउँछन्,’ स्थानीय समिरा चौधरीले भनिन्, ‘गर्मीले घरमा बस्न सक्ने अवस्था छैन । साह्रै दुःख भयो ।’    

जगतपुर गाउँमा करिब आठ सय ५० परिवारले बिजुली उपभोग गर्दै आएका थिए ।  स्थानीय चौराहामा जडान गरिएको एक सय ६० केभीको ट्रान्समिटर पड्‌किँदा चौराहा भन्दा पूर्वपट्टि गाउँमा विद्युत् सेवा अवरुद्ध छ । लामो समयसम्म गाउँमा विद्युत् नहुदाँ आफूहरू उज्यालाका लागि टर्च लाइट र मोबाइल चार्ज गर्न छिमेकी गाउँमा पुग्नुपर्ने बाध्यता बनेको स्थानीय मञ्जु न्यौपानेले बताइन् ।  
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०९:३८
Weather Update