News Griha :: न्यूजगृह
पर्वतमा पहिरोले विद्यालय पुरियो

पर्वत— लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ । फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुई वटा भवन पहिरोले पुरिएका हुन् ।

विद्यालय रहेको स्थानभन्दा करिब ५० मिटरमाथि रहेको सडकबाट पहिलाे खसेको छ । तीन कोठा पुरिए पनि आठ वटा कोठामा जोखिमपूर्ण रुपमा पठनपाठन गराउने गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिए ।

पहिलोपटक गत असार १६ गते पहिरोले भवनमा क्षति गरेको थियो । सोही स्थानमा यही साउन २२ गतेपछि गएको पहिरोले थप क्षति गरेको छ ।

पहिरोले विद्यालयको आँगनसमेत पुरिँदै गएको छ । ‘आठ कोठामा विद्यार्थी राख्न सकिने अवस्था छैन’,उनले भने । जोखिमकैबीच आधारभूत तहदेखि कक्षा आठसम्मको पठनपाठन भइरहेको छ । हाल विद्यालयमा दुई सय ४० विद्यार्थी अध्ययनरत छन् ।

‘जुनकुनै बेलामा पनि पहिरोले थप क्षति गर्न सक्ने अवस्था छ’,प्रअ शर्माले भने,दुई तीन वटा कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनु परिरहेको छ ।’

नौडाँडा–कार्की नेटा–फलेवास–जैमुनी सडकको नवनिर्मित सडकको डिल भत्किएर तीन वटा कक्षा कोठामा क्षति भएको शिक्षक सन्तोष रिजालले बताए ।

विद्यालयका आठ वटा कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई अस्थायी रूपमा एकै ठाउँमा राखेर अध्यापन गरिँदा उनीहरूको सिकाइ उपलब्धिमा असर पर्न थालेको छ । थापाठाना मावि फलेवास नगरपालिकामा नै धेरै विद्यार्थी भएको विद्यालय हो ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०९:१८
Weather Update