News Griha :: न्यूजगृह
नवनियुक्त मन्त्रीहरूलाई गगन थापाका यस्ता सुझाव 

नेपालगञ्ज— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई परिणाम आउने गरी काम गर्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेस, बाँकेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले तीन महिनाभित्र कुनै मन्त्रीले बाहिर अनुहार नदेखाएर परिणाम आउने गरी काम गर्न सुझाव दिए ।

उनले पाँच महिनासम्म पनि परिणाम नआए जनताको धैर्यता टुट्ने उल्लेख गर्दै त्यसैका कारण मुलुक दुर्घटनामा पर्न सक्ने बताए ।

‘प्रधानमन्त्रीले मैले यस्तो काम गर्छु भन्नै पर्दैन जनताले परिणाम देखेपछि आफैं भन्छन्’, महामन्त्री थापाले भने । उनले सरकारले परिणाममुखी काम गर्न सके त्यसले लय समात्ने बताउँदै सरकारको स्थिरताको लाभ जनताले लिन सक्नुपर्नेमा जोड दिए ।

महामन्त्री थापाले चुनाव जित्ने विषयमात्रै सबैथोक नभएको भन्दै आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनावमा जाने बताए । ‘हामी अब वि.सं.२०८४ को निर्वाचन आफ्नै तागतमा लड्नुपर्छ’, उनले भने ।

शान्ति प्रक्रियाको काम नेपाली कांग्रेसले सुरु गरेकाले यसलाई निष्कर्षमा पुर्‍याउन आवश्यक भएकामा जोड दिँदै युद्धमा स्वच्छेचारी ढंगले भएका हत्या र अपराधलाई उन्मुक्ति दिन नहुने बताए ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १९:४८
Weather Update