News Griha :: न्यूजगृह
संघीय निजामती ऐन अन्तिम चरणमा, छिट्टै संसदमा पेश हुन्छ : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती सेवा ऐन चालु संसद् अधिवेशनबाटै पारित गर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालले संघीयता कार्यान्वयनलाई गति दिन सरकारले सो विधेयकलाई चालु संसद् अधिवेशनबाटै पारित गरेर कार्यान्वयनमा लैजानका लागि ध्यान दिएको बताए ।

राष्ट्रिय खेलकुद परिषद्ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संघीय निजामती सेवा ऐन र त्यससँग सम्बन्धित अन्य ऐनहरू नहुँदा अहिले संविधानले अंगीकार गरेको मर्म र भावना अनुसार संघीयता कार्यान्वयन नभएकाले अब सो ऐनहरू बनाएर अगाडि जाने कुरामा सरकार दृढ रहेको समेत बताए ।

प्रधानमन्त्री दाहालले संघीय निजामती सेवा ऐन अन्तिम चरणमा रहेको र अब त्यसलाई छिट्टै संसदमा पेश गर्ने पनि बताए ।

‘अहिलेको सरकारको ध्यान संघीय निजामती ऐन बनाउने र अन्य समायोजनसँग सम्बन्धित ऐनहरू पनि बनाएर अगाडि जाने कुरामा दृढ छ । संघीय निजामती ऐन अन्तिम चरणमा छ । यही सदनमा यसलाई प्रस्तुत गर्ने र त्यसलाई पारित गरेपछि अहिलेका धेरै अन्यौलहरू समाप्त हुन्छन्,’ प्रधानमन्त्रीले भने । 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १९:१३
Weather Update