काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल वामपन्थी आन्दोलन समाप्त पार्न हदैसम्म लागेको बताएका छन् ।
सत्तारुढ नेकपा एकीकृत समाजवादी अध्यक्षसमेत रहेका नेपालले दुई तिहाईको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी र दक्षिणपन्थी सरकार बनाउन भोट दिएको उनको आरोप थियो ।
मंगलबार नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजना रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताए ।
‘विचरा माधव नेपाल, नाम त नलिए हुने हो, तर यो आन्दोलन समाप्त पार्नका निम्ति उनी यति तल गिरे, अदालत गए, कहाँ गएनन् ?, के गरेनन् उनले ?, र प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाए, अध्यक्ष ओलीले भने ।
उनले तत्कालीन एमालेको सरकार गराउन अध्यक्ष नेपालले दक्षिणपन्थी सरकार बनाउन भोट दिएको भन्दै आक्रोश पोखे । ‘दुई तिहाइ कम्युनिस्ट पार्टीको सरकार ढालेर यो पार्टीमा बस्दाबस्दै, पछाडिको ढोकाबाट घोसे मुन्टो लगाएर लुसुक्क गएर हाम्रो सरकार गिराउन भोट दिए, कहाँसम्म गिरेका होलान्,’ ओलीले भने ।
उनले पार्टीका नेता कार्यकर्ताहरू कहिलेकाही राजनीतिक अलमलमा पर्ने गरेको भन्दै यस्तो नहुने आग्रह गरे ।













