पर्वतमा उद्योग तथा व्यवसाय बन्द हुने क्रम बढ्यो

पर्वत— जिल्लामा सञ्चालित उद्योग तथा व्यवसाय बन्द हुने क्रम बढेको छ । पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा ९२ वटा उद्योग तथा व्यवसाय खारेज भएका छन् । जबकी अघिल्लो आवमा ११ वटा उद्योग र ६० व्यवसाय गरी ७१ वटा खारेज भएका थिए ।
कार्यालयका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा दर्ता हुने उद्योग व्यवसायको सङ्ख्या पनि घटेको छ । अघिल्लो आवमा ५४१ उद्योग तथा व्यवसाय दर्ता भएकोमा गत आवमा २७४ वटा मात्रै उद्योग दर्ता भएका छन् ।
कार्यालयले गत आवमा उद्योग दर्ता तथा नवीकरणबाट २७ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्लामा हाल सात हजार ९७ वटा उद्योग तथा वाणिज्य फार्म दर्ता छन् ।
तीमध्ये गत आवमा एक हजार १४१ नवीकरण भएको कार्यालय प्रमुख मुना अधिकारीले जानकारी दिइन् ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० १४:२९













