News Griha :: न्यूजगृह
सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागु, दबाब र प्रभाव रोकिने

काठमाडौं— नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्य क्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागु भएको छ ।

‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९’ अनुसार ठूलो सङ्ख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको गृहमन्त्रालयले जनाएको छ  ।

तालिमपश्चात पास ‘आउट’ भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवम् सहायक दरबन्दीतर्फ सरुवा भएको छ । त्यस्तै, ६४ जना प्रहरी निरीक्षकहरूको बढुवा र पदस्थापन भएको छ । यी सबै सरुवा, बढुवा र पदस्थापन मापदण्डअनुसार भएका हुन् ।

मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको सङ्ख्या, भौगोलिक अवस्थिति लगायतका आधारमा ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरिएको छ । 

त्यसमध्ये ‘क’ र ’ख’ श्रेणीका कार्यालयमा ज्येष्ठता एवम् कार्य सम्पादन स्तरसमेतको आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको छ ।

पहिलोपटक कार्यालय प्रमुखको अवसर प्रदान गर्दा भने अनिवार्य रुपमा ‘ख’ र ‘ग’ श्रेणीका कार्यालयमा मात्र सरुवा गरिएको छ । त्यस्तै यसअघि काज सरुवामा मापदण्ड प्रतिकूल हुने गरी कार्यालय प्रमुखको रुपमा गएका प्रहरी निरीक्षकलाई फिर्ता बोलाई मापदण्डबमोजिम कार्यालय प्रमुख वा सहायक दरबन्दीमा सरुवा गरिएको छ ।

यसरी श्रेणी छुट्याएर मापदण्डअनुसार सरुवा, बढुवा र पदस्थापन हुन थालेपछि कुनै पनि दबाब र प्रभावको अर्थ नहुने गृह मन्त्रालयले जनाएको छ ।

पहुँचवालाले लगातार अवसर पाइरहने र पहुँच नहुनेहरू अवसरबाट बञ्चित हुनु पर्ने अवस्था अन्त्यका लागि उक्त मापदण्ड बनेको हो । 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १४:१८
Weather Update