
खलङ्गा— दार्चुला जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढेको छ । विगत दुईसहित चालु आर्थिक वर्षको पहिलो एक महिनामा सम्बन्धविच्छेदका मुद्दाको सङ्ख्या बढ्दै गएको देखाएको हो ।
गत आर्थिक वर्ष अदालतमा दर्ता भएका मुद्दाहरूमध्ये २४ दशमलव ८७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदसम्बन्धी थिए । चालु आर्थिक वर्षको एक महिनामा यस्ता मुद्दा ३६ दशमलव ३६ प्रतिशत पुगेको छ ।
गत आर्थिक वर्षमा दर्ता भएका २०५ मुद्दामध्ये ५१ वटा सम्बन्धविच्छेदसम्बन्धी रहेको अदालतका सूचना अधिकारी गणेशबहादुर बिष्टले जानकारी दिए ।
उनका अनुसार गत आर्थिक वर्षमा ४६ मुद्दा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका हुन् भने पाँच मुद्दा नयाँ रहेका छन् । त्यस्तै, चालु आर्थिक वर्षमै आठ नयाँ मुद्दा दर्ता भएका छन् ।
चालु आर्थिक वर्षमै आठ नयाँ र १३ गत वर्षबाट जिम्मवारी सरी आएका गरी २१ सम्बन्धविच्छेदका मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको सूचना अधिकारी विष्टले बताए ।
आव २०७८-७९ मा सम्बन्धविच्छेदसम्बन्धी ४७ मुद्दा थिए । गत वर्ष एक जोडीले मुद्दा फिर्ता लिएकै दोस्रो दिन पुनः सम्बन्धविच्छेदका लागि निवेदन दिएर सम्बन्धविच्छेद गराएका थिए । सम्बन्धविच्छेदका लागि पुरुषभन्दा महिलाहरूले बढी मुद्दा दिएको पाइएको छ ।
अदालतका अनुसार आव ०७९-८० मा अभिलेख कायम गरिएका ४९ सम्बन्धविच्छेदका मुद्दाहरूमध्ये ६५ प्रतिशतभन्दा बढी (३३ जना)महिलाहरूका तर्फबाट उजुरी परेका थिए । पुरुषहरूको सङ्ख्या १६ मात्रै रहेको थियो ।













