
काठमाडौं— गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा सोमबारबाट कम हुँदै गएको छ । शनिबार र आइतबारको तुलनामा आगामी एक–दुई दिनमा वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखका मौसमविद् रोजन लामिछानेका अनुसार अबको दुई–तीन दिन वर्षा धेरै हुने देखिँदैन । ‘मनसुन अबको दुई तीन दिन सक्रिय हुने देखिँदैन, यसको अर्थ वर्षा नै नहुने भन्ने होइन तर, निरन्तर र भारी वर्षाको सम्भावना छैन,’ उनले भने, ‘शनिबार र आइतबार बढी वर्षा भयो, अब यो क्रमशः कम हुँदै जानेछ ।’
महाशाखाका अनुसार अबको केही दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहने हुनाले मनसुनी वर्षा कम हुने पूर्वानुमान गरिएको हो ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले देशभर आङ्शिकदेखि सामान्य बदली छ । कोशी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।













