News Griha :: न्यूजगृह
भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण सम्पन्न, हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने

काठमाडौं— पूर्वको बिजुली पश्चिम नेपाल लैजान महत्वपूर्ण मानिएको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको उक्त प्रसारण लाइन निर्माणमा लामो समयदेखि समस्यामा रहँदै आएको थियो ।

चितवनको भरतपुर महानगर–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर लम्बाइको २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । 

उक्त प्रसारण लाइनले एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ । २२० केभी डबल सर्किट प्रसारण लाइनलाई सुरुमा १३२ केभीमा सञ्चालनमा ल्याइने छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाह गर्न थप सहज भएको जानकारी दिए ।

‘प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयको अवरोध, रुख कटानको समस्या, ठेकेदारको कमजोर कार्य सम्पादन जस्ता कारणले जीर्ण बनेको आयोजना निर्माण सम्पन्न भएको छ,’ उनले भने ।

भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि हाल १३२ केभी सिङ्गल सर्किट मात्र थियो । उक्त लाइनको क्षमताले नधान्दा भरतपुरबाट पश्चिमतर्फ थप विद्युत् पठाउन समस्या हुँदै आएको थियो ।

नयाँ २२० केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि थप विद्युत् प्रवाहका लागि सहज हुने छ । यस्तै, भोल्टेजमा पनि सुधार हुने छ । अब भरतपुरबाट बर्दघाटसम्म विद्युत् पठाउन पुरानोसहित तीन वटा सर्किट भएका छन् । 

कूल २२० केभीको लाइनलाई हाल १३२ केभीमा चार्ज गर्दा एउटा सर्किटबाट १७० मेगावाटसम्म विद्युत् प्रवाह हुन सक्छ । पुरानो सिङ्गल सर्किटबाट करिब ९० मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।

बर्दघाटबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भूमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको २२० केभी प्रसारण लाइन निर्माणाधीन छ । उक्त लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । त्यसपछि हेटौंडाबाट नयाँ बुटवल सबस्टेसम्म २२० केभी प्रसारण लाइन जोडिने छ ।

भरतपुर–बर्दघाट प्रसारण लाइनको लम्बाई ७४ किलोमिटर छ । प्रसारण लाइनमा २४६ वटा टावर छन् । आयोजना निर्माणका लागि सेन्ट्रल चाइना पावर ग्रीड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेड कम्पनीसँग २०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । 

कार्य सम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता ०७४ जेठमा रद्द गरी प्राधिकरणले बाँकी काम गर्न नयाँ टेण्डर गरेको थियो । बाँकी काम गर्न चिनियाँ कम्पनी हेङटन अप्टिक्स् इलेक्ट्रिकसँग ०७५ मा ठेक्का सम्झौता भएको थियो ।  

नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा केही स्थानीयले प्रसारण लाइनको रुट परिवर्तन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

सर्वोच्च अदालतले ०७७ चैत २५ गते स्थानीयको माग बमोजिम अन्तरिम आदेश दिएपछि त्यस क्षेत्रमा पर्ने प्रसारण लाइनको दुई वटा टावर निर्माण रोकिएको थियो । 

सर्वोच्चले ०७९ असार १२ गते रिट खारेज गरेको थियो । त्यसपछि स्थानीयसँगको मुआब्जा तथा क्षतिपूर्तिका विषयमा निरन्तर छलफल गरी ०७९ चैतमा सहमति भएपछि निर्माण सुरु गरिएको आयोजना प्रमुख आयोजना प्रमुख सन्तोष साहले बताए ।

दुम्कीबासको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई सञ्चालनमा ल्याएको थियो ।

भरतपुरबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनको सिंगल सर्किटलाई एक वर्षअघि सञ्चालनमा ल्याइएको थियो ।

भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापीङ गरी हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको थियो । 

भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर–बर्दघाट २२० केभीको लाइनसँग जोडिएको थियो । प्रसारण लाइनको क्षमता सुदृढीकरण र नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौडा–भरपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको थियो ।

विसं ०७८ कात्तिकबाट विश्व बैंक आयोजनाबाट पछि हटेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो । 

आयोजनालाई हेटौंडा–भरतपुर र भरतपुर–हेटौंडा खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो ।  हेटौंडा–भरतपुर खण्ड निर्माण सम्पन्न भई एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १३:१२
Weather Update