
मनाङ— मौसममा सुधार भएसँगै हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र सडक सञ्चालन भएको छ । अविरल वर्षासँगै चार दिनदेखि अवरुद्ध भएको सडक सञ्चालनमा आएको हो ।
सोमबारदेखि मौसममा सुधार आएपछि डुम्रे–बेँसीसहर–चामे सडक सुरु भएको हो । सडकमा आवतजावत ठप्प हुँदा मनाङ आउने पर्यटक, मार्ग दर्शक (गाइड), कर्मचारी बीच बाटोमै अलपत्रमा परेका थिए ।
उक्त सडक खण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरेस्थित सडक भासिएको थियो । सडक खुलेसँगै औषधिलगायतका अत्यावश्यक सामग्री लिएर सवारी साधन मनाङ आएको जिल्ला अस्पताल प्रमुख रहमत अन्सारीले जानकारी दिए ।
उनका अनुसार मौसमले धेरै प्रभाव पार्ने मनाङमा मनसुनमा यात्रा गर्न सकस हुँदै आएको छ । यस कारण सावधानी अपनाउनु पर्ने भए पनि अत्यावश्यक कामले हिँड्न बाध्य हुनु पर्ने उनको भनाइ छ ।
जिल्लाको स्वास्थ्यसँग जोडिएको व्यक्तिले यहाँका स्थानीय तथा पर्यटकलाई औषधिलगायतका सेवा प्रवाहलाई मध्य नजर गर्नु पर्ने उनले बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले जोखिमकै बेलामा पनि दैनिक १४ देखि १५ जनासम्म पर्यटक आउने गरेका जानकारी दिए ।
‘आन्तरिक जस्ता हुँदैनन्, विदेशी पर्यटक जोखिमलाई आत्मसाथ गर्ने भएकाले पहिराको जोखिम पार गर्दै पर्यटक आउने क्रम जारी रहेको छ,’ उनले भने । अब सिजन सुरु हुने अवस्था भएकाले पर्यटक आउन थालेको उनले बताए ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सब–इन्जिनियर सुमन अधिकारीले काम गर्न सहज हुनासाथ अवरुद्ध सडक खुलाइएको बताए ।
उनले भने, ‘यस सडकमार्फत यात्रा त अझै जोखिम छ, तर हालका लागि सडक सञ्चालनमा ल्याएका छौँ ।’













