News Griha :: न्यूजगृह
मुगु जीप दुर्घटनामा थप एक जनाको मृत्यु, यी हुन् मृत्यु हुनेहरू
सांकेतिक तस्बिर

मुगु— जिल्लामा सोमबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । उपचारका लागि अस्पताल लैजाँदै गर्दा एक घाइतेको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी घाइते भएका सोरु गाँउपालिका–५ का वडा सदस्य लोकजङ्ग नेपालीको बाटोमै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख कमल ढुङ्गानाले जानकारी दिए ।

घाइते नेपालीको उपचारका लागि जिल्ला अस्पताल मुगुतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतका अनुसार दुर्घटनामा परी हुम्ला सर्केगाड–२ रिपगाउँका राम परियार, प्रकाश बोहोरा, राम परियार, पिउस परियारको मृत्यु भइसकेको छ । 

घटनामा परी घाइते चालक दिनेश लावड, गोविन्दा शाही, सेरे रोकाया र हुम्ला सिमिकोट–२ का उदीप बोहोराको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ ।

लगातार भइरहेको वर्षाका कारण घाइतेको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउन कठिनाइ भइरहेको अस्पतालले जनाएको छ । 

सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नं को जीप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ११:४८
Weather Update