
काठमाडौं— कर्णालीका विभिन्न जिल्लासहित देशका दुर्गम जिल्लाहरूमा अहिले हवाई उडान ठप्प छ । नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्ने निर्णय लिएपछि दुर्गमका उडान प्रभावित हुँदा सर्वसाधारण मारमा परेका छन् ।
प्राधिकरणको निर्णयले नागरिकलाई आवतजावत गर्न सास्ती तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको छ । विमान कुर्दा हुम्लामा हालसम्म दुई जना बिरामीको ज्यान गुमाइसकेका छन् ।
प्राधिकरणको ‘अपरेशन आवर’ निर्णयका कारण ठप्प बनेको हवाई उडानको अवस्थाप्रति कर्णालीका सरोकारवाला निकायले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जानकारी गराएका छन् । उनीहरूले अपरेशन आवरको निर्णय खारेज गरी स्थिति सहज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
कर्णाली पर्यटन उद्यमी समाजको संयोजकत्वमा निर्णय खारेजीका लागि कर्णालीका नागरिक, सरोकारवाला र पर्यटन व्यवसायीले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन ।
‘नागरिकमाथि अन्याय भयो, आवतजावत ठप्प छ, ढुवानी भएका छैन र बिरामीले विमान कुर्दै ज्यान गुमाइसकेका छन्,’ समाजका अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले भने, ‘निर्णय खारेजीका लागि प्रधानमन्त्री ज्युको ध्यानकर्षण गराएका छौँ, उहाँले तल्लो तहसँग छलफल गर्ने बताउनु भएको छ ।’
समाजले अपरेशन आवरको निर्णय कार्यान्वयन भएसँगै संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराएको थियो । कर्णालीका जनप्रतिनिधिसँग छलफल गरी निर्णय फिर्ता लिन सरकारसँग पहल गर्न आग्रह गरेको थियो ।
कर्णालीका नागरिकले जहाजलाई अनुकूल समयमा उडान गर्न अनुरोध गर्दै सांकेतिक विरोधका लागि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारलाई म्यासेज गरिरहेका छन् । सोमबार मुगुमा भएको सडक दुर्घटनाका बिरामीलाई समेत अस्पताल ल्याउन कठिन भएको थियो ।
‘सरकारले हामीमाथि सौतेनी व्यवहार गरेको छ,’ मुगुका स्थानीय जसबहादुर बुढाले भने, ‘कर्णाली राजमार्गमा यात्रा गर्न हप्तौँ लाग्छ, निर्णय फिर्ता लिई नागरिकको जीवन सहज बनाउन र ज्यान बचाउन सरकार लाग्नु पर्छ ।’













