
कास्की— घरबाट विद्यालय हिँडेका तीन बालिका बेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनेर हिँडेका बालिका हराएपछि परिवारले खोजी गर्न हारगुहार गरेका छन् ।
पोखरा महानगर २ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् । तीनै जना बालिका हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
हराएका बालिका घरबाट विद्यालय हिँडे पनि विद्यालय पुगेका थिएनन् । हराएकामध्ये राधिका र मनिका राष्ट्रिय माध्यमिक विद्यालय र एलिसा बरपाटन माध्यमिक विद्यालयमा अध्ययनरत थिए ।
परिवारका अनुसार बालिका हराउँदा विद्यालयको पोशाक सेतो सर्ट र निलो स्कट लगाएका थिए । प्रहरीका अनुसार हराएका बालिकाका परिवारले घरबाट स्कुल जान्छु भनेर हिँडे पनि घरमा नफर्किएपछि प्रहरीमा निवेदन दिएका छन् ।
‘आफन्त, इष्टमित्रसमेतको सम्पर्कमा नआएको हुँदा खोजी गरी पाऊ भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि खोजी कार्य तीव्र बनाइएका छौँ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले भने ।













