News Griha :: न्यूजगृह
काठमाडौं महानगरको विद्यार्थी भर्नामा चित्त नबुझे आज निवेदन दिन पाउने

काठमाडौं— काठमाडौं महानगरले कक्षा ११ को छात्रावृत्ति पाउने विद्यार्थीको अन्तिम सूचीमा चित्त नबुझे निवेदन दिन आह्वान गरेको छ ।

महानगरले सूचना जारी गर्दै पहिलो भर्ना सूचीमा चित्त नबुझे निवेदन दिन आग्रह गरेको हो । पहिलो चरणको सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरूले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ । 

भदौ ३ गते दोस्रो चरणको नतिजा प्रकाशन गर्ने महानगर शिक्षा विभागको तयारी छ । त्यसअघि नै महानगरले निवेदन मागेको हो ।

महानगरको शिक्षा विभागले गरेको सिफरिसविरुद्ध चित्त नबुझेका विद्यार्थीले म्याचिङको नतिजामाथि कारबाहीको माग गर्दै निवेदन दिएको जनाएको छ । त्यस्ता निवेदनमाथि छानबिन भइरहेको जनाउँदै महानगरले अन्यलाई पनि आज साँझ ५ बजे (एक दिन)सम्म निवेदन दिने समय दिएको हो ।

कक्षा ११ को छात्रवृत्तिका लागि साउन २० गते महानगरले लिएको परीक्षाको म्याचिङ् नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची सोमबार प्रकाशन गरेको छ । 

जसमा विज्ञान विषयमा एक हजार ४५२ जना, व्यवस्थापन विषयमा ७४५ जना, कानूनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इञ्जिनियरिङ्मा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना परीक्षार्थीले भर्ना गर्न पाउने छन् ।

उक्त कोटामा सहभागी हुने विद्यार्थीलाई विभिन्न क्याटागोरीअन्तर्गत आरक्षणसम्बन्धी विवरण समावेश गरिएको महानगरले जनाएको छ । त्यसमा सामुदायिक विद्यालयमा अध्ययन गरेका, संस्थागत विद्यालयमा अध्ययन गरेका, काठमाडौं महानगरभित्र स्थायी बसोबास भएका सबै विद्यार्थी तथा ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रमा अध्ययन गरेका विद्यार्थी परेका छन् ।

आर्थिक अभावका कारण कोही विद्यार्थीले माध्यामिक तहसम्मको शैक्षिक अवसरबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्य महानगरको रहेको महानगरद्वारा सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १०:२२
Weather Update