
धादिङ— जिल्लाको त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने दुई वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । पुलमा क्षति पुगेसँगै किसान र विद्यार्थी मारमा परेका छन् ।
किसालने उत्पादित तरकारी बजारसम्म पुर्याउन पाएका छैनन् । नदी तरेर आउजाउ गर्ने विद्यार्थी विद्यालय जान पाएनन् ।
गण्डकी गाउँपालिकाको भुम्लिचोक र ध्याल्चोकका किसानले बारीमा उत्पादन गरेका तरकारी यी दुई पुलमा क्षति पुगपछि मुख्य सडकसम्म ल्याउन पाएका छैनन् । ती क्षेत्रमा उत्पादन भएका तरकारी काठमाडौं चितवनलगायतका क्षेत्रमा बिक्री गरिँदै आएको छ ।
यस पुलबाट तरकारी लिएर बजार किनमेलमा आउने ९४ घर धुरी किसान बजारसँगको सम्पर्क विच्छेद भएको स्थानीय सीता गिरीले जानकारी दिइन् ।
बाढीले पुलमा क्षति पुगेपछि दैनिक रूपमा पठनपाठनका लागि विद्यालय आउजाउ गर्नु पर्ने विद्यार्थी पनि विद्यालय जान समस्या भएको छ ।
पुलमा क्षति पुगेपछि मझिमटारमा रहेको शङ्खादेवी माविमा पढ्ने गोरखाका विद्यार्थी विद्यालय आउन नपाएका हुन् ।
गोरखाबाट धादिङको बेनीघाटस्थित शङ्खादेवी माविमा मात्रै २२ विद्यार्थी रहेको शिक्षक तिलक चेपाङले बताउँछन् । उनीहरूलाई वैकल्पिक बाटो प्रयोग गर्दा दैनिक चार घन्टाभन्दा पैदल हिँड्नु पर्छ ।
लगातार वर्षापछि त्रिशूली नदीमा आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदी र गोरखाको गण्डकी गाउँपालिका–७ जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल क्षति भएको हो ।
यस्तै धादिङको बेनीघाट रोराङ–१० र गोरखाको गण्डकी–६ जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको छ ।
दुवै पुलका डन्डी भाँचिएको छ भने लठ्ठा झोल्लिएको छ । बाढीले बगाएर ल्याएका काठ दाउरा पुलमा अड्किएको छ । अहिले पुलबाट आवतजावत गर्न सकिने अवस्था नरहेको स्थानीयले बताए ।
बाढीले हिर्काएर हिक्लुङघाटमाथिको झोलुङ्गे पुलको ट्रस्ट नै बगाएको छ । धवादी घाटमाथिको झोलुङ्गे पुलको भने बाढीले लठ्ठा छिनेको छ ।













