
काठमाडौं— राष्ट्रिय सभाअन्तर्गतका दुई समितिहरूको बैठक मंगलबार बस्दै छन् ।
प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संघीय संसद् अवरुद्ध गरिरहेका बेला राष्ट्रिय सभाका दिगो विकास तथा सुशासन र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्न लागेको हो ।
दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद सचिवालय सिंहदरबारमा बस्ने बैठकमा दलित समुदायका विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक साँस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने लगायतका विषयमा राष्ट्रिय सभाबाट स्वीकृत संकल्प प्रस्ताव कार्यान्वयनको अवस्थाका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक भने १२ बजेका लागि बोलाइएको छ । बैठकमा मधेस प्रदेशमा सम्पन्न कार्यक्रमको समीक्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आयोजना गरिने कार्यक्रमका विषयमा छलफल हुनेछ ।
राष्ट्रिय सभाको बैठक बुधबार १ बजेका लागि बोलाइएको छ भने प्रतिनिधि सभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित गरिएको छ ।













