News Griha :: न्यूजगृह
‘निर्वाचित भएर हामी तीन भाइसँगै सांसदका रूपमा उभिनेछौं’

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा.स्वर्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।

रास्वपा पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा चितवन–२ मा सभापति लामिछाने, तनहुँ–१ मा डा. वाग्ले र बारा–२ मा खरेललाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले उम्मेदवारको टिकट प्रदान गरे ।

सो अवसरमा सभापति लामिछानेले तीनै जना उम्मेदवार आगामी उपनिर्वाचनमा निर्वाचित हुने विश्वास व्यक्त गरे । उनले भने,‘निर्वाचित भएर हामी तीन भाइसँगै सांसदका रुपमा उभिनेछौं ।’

सभापति लामिछानेले मुलुकको सेवा गर्न तयार क्षमतावान् व्यक्तित्वहरू आफ्नो पार्टीबाट निर्वाचित हुने दाबीसमेत गरे । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ ।’

रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्लेले नयाँ राजनीतिक युगको सुरुआत गर्दै देश विकासका लागि एकजुट भएर उम्मेदवारी दिएको बताए । यस्तै अर्का उम्मेदवार रमेश खरेलले देश विकासका लागि आफूहरू एकजुट भएको बताए ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १८:०९
Weather Update