
काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने बताएका छन् ।
वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मानका साथ विश्व बजारमा श्रम गर्न सक्ने वातावरण सिर्जना गर्ने उनको भनाइ छ । शनिबार ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षणमा पुगेका मन्त्री भण्डारीले वैदेशिक रोजगारमा गएका नेपालीको ठुलो योगदान भएकाले यसलाई व्यवस्थित बनाउन लागिपर्ने बताएका हुन् । उनले भने, 'अर्थतन्त्रमा रेमिट्यान्समा महत्त्वपूर्ण योगदान पुर्याउने वैदेशिक रोजगारीमा जाने नेपालीले सम्मान र इज्जतका साथ विश्वबजारमा आफ्नो श्रम प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्ने मेरो पहिलो प्रयास हुनेछ ।'
विभिन्न देशमा रोजगारीका लागि गैर कानुनी ढङ्गले जाने अवस्था सिर्जना भइरहेको भन्दै उनले यसले उक्त देशसँग दौत्य सम्बन्ध स्थापित गरी सहज बनाउने बताए । मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा हुने ठगी, गैर कानुनी कामको अन्त्य गर्दै श्रमिकको हकहितका लागि काम गर्ने सम्मानित मन्त्रालयका रुपमा अगाडि बढाउन आफू लागिपर्ने बताए ।
जनताले अनुमोदन गरेको गठबन्धनको सरकार बनेको भन्दै यो स्थायी र दीर्घकालसम्म जाने उनले दाबी गरे । सो अवसरमा मन्त्री भण्डारीले नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्ण कदको सालिकमा माल्यार्पण गरेका थिए । मन्त्री भण्डारीलाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराएका थिए ।













