News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने गठबन्धनको निर्णय

काठमाडौं— सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरेको र उच्चस्तरीय आयोगको माग गर्नु अहिले भइरहेको अनुसन्धानमा अवरोध पुर्‍याउनु भएको गठबन्धनको ठहर रहेको बताए ।

उनले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको प्रसंगमा पनि छलफल भएको र छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर दोषी करार गर्न नसकिने र बाँकी अनुसन्धान जारी रहेको कुरा राखेको पाण्डेले जनाए ।

पाण्डले भने, ‘संसद अवरुद्ध छ । प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति माग गरिरहेको छ । यता सीआईबीले अनुसन्धान गरिरहेको छ । यो अवस्थामा उच्चस्तरीय आयोग आवश्यक छ की छैन भन्ने कुरा भयो । उच्चस्तरीय आयोग माग्नु भनेको अहिले भइरहेको छानबिनमा अवरोध गर्नु हो । यो केसलाई अवरोध गर्नुहुन्न भन्ने सहमति भयो ।’

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  २०:०५
Weather Update