
काठमाडौं— प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा मुख्य तीन एजेन्डामाथि छलफल भएको छ ।
ललिता निवास सार्वजनिक जग्गा प्रकरण, प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर गरिरहेको संसद् अवरोध, गौर हत्याकाण्ड प्रकरण छानबिन एजेन्डामाथि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले न्यूजगृहलाई जानकारी दिएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत छन् ।
गत साउन २१ गते सर्वोच्चले ललिता निवास प्रकरणसम्बन्धी बन्दीप्रत्यक्षीकरणको रिटमा मन्त्रिपरिषद्को निर्णय, कार्यान्वयन तथा प्रस्तावमा प्रत्यक्ष संलग्नहरूमाथि अनुसन्धान गर्न आदेश दिएको थियो ।
आदेशपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्री नेपाल र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्ने तयारी गरेकाे छ ।













