News Griha :: न्यूजगृह
हाम्रो पार्टी देशकै ठुलो पार्टी बन्छ, यो जनाउ घण्टी हो : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी देशकै ठुलो पार्टी बन्ने बताएका छन् । 

शनिबार बसुन्धरास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो पार्टी देशको सबैभन्दा ठुलो र देशको सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुने बताए ।

विज्ञता प्रस्तुत गरौं, मुलुकको सेवा गरौं भन्नेहरूका लागि पार्टीमा ठाउँ राखेको बताउँदै उनले रास्वपा देशको सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुने दाबी गरे । 'म कहाँ गएर मेरो विज्ञता प्रस्तुत गरौं, कहाँ गएर यो मुलुकको सेवा गरौं भनेर सोचिरहनुभएका सबैका लागि हामीले ठाउँ राखेका छौं । र म यहाँहरूलाई संकेत मात्रै गर्न चाहन्छु कि कयौं यस्ता क्षमतावान् व्यक्तित्वहरू यस पार्टीको माध्यमबाट मुलुकको सेवा गर्न तयार बस्नुभएको छ', उनले भने, 'निर्वाचनसँगै तपाईंहरूले प्राप्त गर्नुहुनेछ। र यो संकेत हो। कि राष्ट्र स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठुलो र देशको सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ।'

सभापति लामिछानेले यो जनाउ घण्टी मात्रै भएको पनि बताए । उनले भने, 'यो जनाउ घण्टी मात्रै हो । डा. स्वर्णिम वाग्ले, रमेश खरेलसँगैको यो प्रेस भेटघाट कार्यक्रममार्फत आम नागरिकलाई जानकारी दिने आजको यो कार्यक्रम त्यो आउँदै गरेको हजारौं क्षमतावान् मानिसहरू जोडिन आँटेको कुराको जनाउ घण्टी मात्रै हो । सम्पूर्ण होइन ।'

आफ्ना पार्टीका उम्मेदवारहरू स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउन नहुने उनले बताए । वाग्ले तनहुँ क्षेत्र नम्बर १ र खरेल बारा क्षेत्र नम्बर २ बाट उपनिर्वाचन लड्दै छन् । यता सभापति लामिछाने भने चितवन क्षेत्र नम्बर २बाट उपनिर्वाचन लड्न लागेका हुन् ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १७:४४
Weather Update