News Griha :: न्यूजगृह
कांग्रेसको निष्कर्ष : एक क्विन्टल सुन विमानस्थलबाट बाहिरिनु चिन्ताको विषय

काठमाडौं— सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठकले विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु चिन्ताको विषय भएको बताएको छ ।

सोमबार सम्पन्न भएको संसदीय दलको बैठकले विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भिर चिन्ताको विषय भएको निष्कर्ष निकालेको हो । कांग्रेसले सुन तस्करी कार्यमा संलग्न जोसुकै भए पनि छानबिनको दायराभित्र ल्याएर कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ । 

प्रमुख सचेतक रमेश लेखकले यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन अनुरोध गरिएको बताए ।

‘हालै अवैध ढंगले त्रिभुवन विमानस्थलबाट बाहिर बरामद गरिएको एक क्विन्टल सुनको विषयमा यो बैठकको ध्यान गम्भिर रुपले आकृष्ट भएको छ,’ उनले भने, ‘त्रिभुवन विमानस्थल जस्तो सरकारका सबै महत्वपूर्ण निकायको सदैव निगरानीमा रहने स्थानबाट अवैध ढंगले सुन बाहिरिनु गम्भिर चिन्ताको विषय भएको छ ।’

उस्तै, उनले बैठकमा नेपाल सरकार यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराईका साथ अनुसन्धानमा गएर आरोपीलाई कानूनी दायरामा ल्याउन आग्रह गर्नेबारे छलफल भएको बताए ।
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १७:२७
Weather Update