देश आतंककारी समूहले चलाएको जस्तो छ : सांसद शर्मा

काठमाडौं— नेपाली कांग्रेसका सांसद सुनिल शर्माले देश आतंककारीहरूको समूहले चलाएको जस्तो महसुस भइरहेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै सांसद शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको रबैया आतंककारी समूहको जस्तो भएको आरोप लगाए ।
‘अहिलेको प्रधानमन्त्री र गृहमन्त्रीको जुन रवैया छ, त्यो प्रजातान्त्रिक देशको प्रधानमन्त्री र गृहमन्त्रीको रुपमा नभएर एउटा आतंककारीहरूको समूहले चलाएका जस्तो छ,’ उनले भने ।
सांसद शर्माले आफूलाई गिरफ्तार गरेको शैली आतंककारीको जस्तो भएको बताए । गृहमन्त्रीले जसरी पनि राजीनामा दिनै पर्ने उनको माग छ ।
शर्माले यो सरकार पूर्ण रुपमा असफल भएको र जनताको पक्षमा कुनै काम गर्न नसकेको जिकीर गरे । उनले जनताको न्यूनतम आवश्यकता समेत सरकारले पूरा गर्न नसकेको दाबी गरे ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १६:५५













