
काठमाडौं— प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक क्विन्टल सुन प्रकरण छानबिनमा सरकारले प्रतिपक्षको आवाज दबाउन खोजेको आरोप लगाएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले प्रतिपक्षीको आवाजलाई दबाउन खोजेको आरोप लगाएका हुन् ।
‘सरकारले जुन ढंगले छानबिनमा आलटाल गरेर प्रतिपक्षीको आवाज दबाउन खोजिरहेको छ, सांसद पक्राउ गरेर प्रतिशोधपूर्ण बाटोमा अघि बढ्दैछ, यसमा संलग्न मन्त्रीहरूले राजीनामा दिनु पर्छ भन्ने व्यक्ति र सांसदहरूलाई प्रतिशोधपूर्ण ढंगले थुनामा राख्ने तर्साउने कार्य भइरहेका छन्,’ उनले भने, ‘जति समय बित्दै छ त्यति त्यति सरकारको संलग्नतता प्रष्ट भएको छ ।’
सीआईबीले नामै किटान गरेकालाई समेत सरकारले छानबिनको दायरामा नल्याएको उनको दाबी छ । ‘सीआईबीले नाम किटान गरेका छानबिनमा नल्याउने, सरकारी वकिलले नाम हटाएर मुद्दा दायर गर्ने स्थिति छ, यो सबैमा दबाब र प्रभाव प्रष्ट देखिन्छ,’ उनले थपे ।
सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनु पर्ने माग गर्दै आएको एमालले आजसमेत संसद् बैठक अवरुद्ध गरेको छ ।













