
मलेखु— धादिङको उत्तरी क्षेत्रमा पर्ने गङ्गाजमुना गाउँपालिका–१ स्थित रिगाउँ पहिरो जोखिम बढेपछि स्थानीय त्रस्त भएका छन् ।
बस्तीमाथिको जमिन चिरा परेर बग्न थालेको स्थानीय एक विद्यालयका प्रधानाध्यापक रामचन्द्र सिटौलाले जानकारी दिए ।
भासिन थालेको स्थानभन्दा तलका घर खाली गर्न थालिएको छ । हालसम्म भासिन थालेको स्थानको सीधा मुनि रहेका करिब १५ घर खाली गराइसकिएको छ ।
वृद्धवृद्धा र बच्चालाई सुरक्षित स्थानतर्फ सारिनुका साथै अन्नपात, लत्ता कपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ लान थालिएको छ ।
अहिले त्यहाँका बासिन्दाले घरायसी सामान र बस्तुलाई सुरक्षित स्थानतर्फ सारिरहेको रिगाउँ माविका प्रधानाध्यापक सिटौलाले बताए ।
केहीले विद्यालयकै सुरक्षित भवनमा सरसामान थन्याएका छन् । केहीले जोखिम नभएका छिमेकी र आफन्तको घरमा राखेका छन् ।
गाउँभन्दा माथिका जमिन भासिन थालेको छ । त्यही भासिन थालेको ठाउँभन्दा मुनि बस्ती छ । करिब ५० घरजति पुरिने अवस्थामा पुगेको छ । आसपासका करिब ६० घर जोखिममा रहेको गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले बताए ।
जुनसुकै बेला पहिरो झर्न सक्ने जोखिम उच्च भएपछि उक्त विद्यालयको पठनपाठन बन्द गरिएको छ । स्कुलको दुई वटा भवनमध्ये २० कोठे नयाँ भवनसमेत जोखिममा परेको छ ।
आइतबारदेखि लगातार पानी परिरहेको र बिहान स्थानीय घाँस काट्न जाने क्रममा जमिन भासिएको देखेर गाउँमा खबर गरेका थिए । सरोकारवाला सबैले हेर्दा थप जोखिम हुने सक्ने भएकाले बस्ती खाली गराइएको हो ।
जिल्ला सदरमुकाम धादिङबेँसीबाट करिब ५४ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा प्राय तामाङ समुदायको बसोबास छ । बर्खा लागेपछि यहाँ सवारी साधन चल्दैन ।













