
काठमाडौं— नेपाली कांग्रेसले अवरुद्ध संसद नियमित गर्न पहल गर्ने निर्णय गरेको छ । तीन दिन बसेको कांग्रेस संसदीय दलको बैठकले अवरुद्ध संसद सुचारु गर्न पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
सत्तारुढ दलहरूसँगै प्रमुख प्रतिपक्षलगायत अन्य सबै दलसँग छलफल गरेर संसद खोल्न पहल गर्ने निर्णय भएको उनको भनाइ थियो ।
‘नेपाली कांग्रेसको संसदीय दलको बैठकले सत्तारुढ दलहरूसँगै प्रमुख प्रतिपक्षलगायत सबै दलसँग संवादको अग्रसरता लिएर अवरुद्ध संसद सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ,’ उनले भने ।
उनले ससंद अवरुद्ध हुँदा जनताको विषयवस्तु उठ्न नसकेको र विचारधीन विधेयक अघि बढ्न नसकेको बताए । ‘प्रतिपक्षले सदनमा आलोचनात्मक रुपले प्रस्तुत हुन स्वभाविक भएको तर लामो समयसम्म सदनमा छलफल हुन नसक्ने गरी संसद अवरुद्ध गर्ने कार्य गैरजिम्मेवार हो,’ उनले भने ।
उनले संघीय संसद नचल्ने अवस्थाले संसदीय पद्धतीप्रति जनताको वितृष्णा हुने जोखिम उत्पन्न भएको बताए ।













