
काठमाडौं– नेकपा (एमाले)ले पार्टीका नेता डा. भीमबहादुर रावलसँग संवाद गर्न उच्चस्तरीय टोली गठन गरेको छ ।
शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले नेता रावल पार्टीको विधि र विधान विपरीत चलेको निष्कर्ष निकाल्दै संवादका लागि टोली गठन गरेको हो । पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा बनेको टोलीमा पार्टीका सचिव तथा सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सह-इन्चार्ज कर्ण थापा सदस्य रहेका छन् ।
पूर्व उपाध्यक्ष समेत रहेका रावल पार्टीको विधि र विधान विपरीत चलेकाले यस सम्बन्धमा संवाद गरी आवश्यक निर्णय लिन टोली गठन गर्नु परेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
नेता रावलले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पनि पार्टीलाई सहयोग नगरेको स्थानीय पार्टी नेता तथा कार्यकर्ताहरूको गुनासो आएपछि एमालेले त्यसबारे वार्ता गर्न उच्चस्तरीय टोली नै गठन गरेको हो ।













