News Griha :: न्यूजगृह
गोरखामा भेटिएको टल्किने ढुङ्गा भगवती शिलाका रुपमा गोरखामै राख्ने निर्णय

गोरखा— गोरखा नगरपालिका–७ सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखामै राख्ने भएको छ । उक्त ढुङ्गा गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको हो ।

अलौकिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्व कालदेखि कूल देवता मानेर पूजा गर्दै आएका थिए । सोही कारण गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतीकका रुपमा लिएकाले जिल्ला बाहिर नपठाउने निर्णय भएको नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले जानकारी दिइन् ।

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ भन्दा बढी संघसंस्था, घरधनी र बुद्धिजीवीको आइतबार सर्वपक्षीय बैठक बसेर क्वार्ज किष्टललाई गोरखा दरबार परिसरभित्रै सुरक्षितसाथ भगवती शिलाका रुपमा विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय गरेको थियो ।

‘औलौकिक शिला मन्दिरमा राखिएपछि यसले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनलाई समेत थप आकर्षण गराउँछ,’ उपप्रमुख थोकरले भनिन्, ‘गोरखाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रुपमा लिएकाले बाहिर लैजान नहुने भन्दै सर्वपक्षीय बैठकले दरबार परिसरमै प्रतिस्थापन गर्ने निर्णय गरेको हो ।’

बरामद गरिएको क्वार्ज किष्टल कहाँ राख्ने भन्ने विषयमा चर्चा चलिरहेका बेला गोर्खाली जनताको चाहाना र भावनाअनुसार दरबार परिसरमा राख्न स्थानीय सरकारसहित सरोकारवाला सहमत भएको उनले बताइन् ।

‘खानी तथा भूगर्भ विभागमा राखे पनि पनि राज्यकै हुने र गोरखा दरबारमा राखे पनि पनि राज्यकै सम्पत्तिको हुने हो,’ उपप्रमुख थोकरले भनिन्, ‘राज्यले नै सुरक्षा दिएर राख्ने भएकाले क्वार्ज किष्टललाई जिल्ला बाहिर पठाउन नहुनेमा गोरखास्थित संघसंस्था, बुद्धिजीवी, घरधनी, नागरिक समाजका अगुवाको पनि चाहना थियो ।’ 

आफ्नो घरबाट बरामद गरिएको उक्त क्वार्ज क्रिष्टललाई गोरखकाली मन्दिर परिसरभित्रै राख्नु पर्ने र समयसमयमा आफूहरूले पूजा गर्न पाउनु पर्ने घर धनीले माग राखेका थिए ।

सर्वपक्षीय बैठकमा औलोकिक शिला गोरखामा राख्ने निर्णय गरेपछि नगरपालिकाले आवश्यक प्रक्रियाका लागि नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भूगर्भ विभाग र पुरातत्व विभागमा पत्राचार गर्ने निर्णयसमेत गरिएको थियो । 

जिल्ला प्रशासन कार्यालयको आग्रहमा प्रहरी कार्यालयमा विशेष सुरक्षाका साथ राखिएको टल्कने ढुङ्गाको अध्ययन गर्न पुगेको खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले उक्त ढुङ्गा ‘क्वार्ज किष्टल’ नै भएको पुष्टि गर्दै विभागमा पठाउन प्रशासनलाई सुझाव दिएको थियो । टोलीले दुई दिन लगाएर उक्त परीक्षण गरेको थियो ।

उक्त ढुङ्गा ५२ किलो ३३० ग्राम रहेको रहेको छ । गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपीपलस्थित स्थानीय राममाया शाहीको घरबाट बरामद गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १३:५०
Weather Update