
काठमाडौं— सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै ढोका खोलिएको छ । ब्यारेजका सबै ढोका खोलिए पनि नदीको बहाव अझै उच्च छ ।
कोशीको पानी अझै ब्यारेज पुलको तल्लो भागलाई छोएर बगिरहेको छ । पछिल्लो मापनअनुसार सप्तकोशीमा पानीको बहाव चार लाख क्युसेक प्रतिसेकेण्ड रहेको छ ।
बिहानको समयमा पानीको बहाव चार लाख ६२ हजार ३४५ क्युसेक प्रतिसेकेण्डसम्म पुगेको थियो । बहावमा उतारचढाव जारी रहेकाले पूर्ण शतर्कता अपनाइएको सुनसरी प्रशासनले जनाएको छ ।
प्रशासनले उच्च बहावसँगै खोलिएका ब्यारेजका सबै ५६ ढोकाको अवस्था हेरेर क्रमशः बन्द गरिने जनाएको छ । कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार पछिल्लो पटकको पानीको बहाव अहिलेसम्मकै तेस्रो उच्च रहेको छ ।
यसअघि ब्यारेजमा कोशी नदीको बहाव सन् १९६८ मा सबैभन्दा बढी सात लाख क्युसेक मापन भएको थियो । १९८९ मा चार लाख ७२ हजार क्युसेक रेकर्ड गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।
नदीको बहाव उच्च हुँदा ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । यो चौथो पटक खोलिएको हो । यसअघि २०१९ मा बालुवा थुप्रिएर पुलमा खतरा बढेपछि सबै ढोका खोलिएको थियो ।
यसैबीच नदीको बढ्दो जल सतहसँगै सुनसरी प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । सुरक्षाका सबै निकायलाई अलर्टमा राखिएको जनाएको प्रशासनले नदीले कटान र क्षति नपु¥याए पनि जोखिम कायम रहेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सबै संयन्त्र तयारी अवस्था राखिएको बताउँदै सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखेर निरन्तर अनुगमन जारी रहेको बताइन् ।













