News Griha :: न्यूजगृह
पहिरोले देशभरका यी राजमार्गहरू अवरुद्ध

काठमाडौं— अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा राजमार्ग अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार वर्षासँगै पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व)का विभिन्न नौ स्थानका सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण दार्चुलाको गोकुलेश्वर–दार्चुला राजमार्ग, सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङ सडक खण्ड अवरुद्ध भएको हो ।

यस्तै, मुगुको जुम्ला–नाग्म–मुगु, डडेल्धुराको डडेल्धुरा–दिपायल र भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

पाल्पाको सिद्धार्थ राजमार्ग, रोल्पाको थवाङ जाने सहिदमार्ग र रूकुम (पूर्व)को मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १३:०३
Weather Update