News Griha :: न्यूजगृह
कागबेनीमा बाढी: २० घर बगायो, थप क्षतिको संकलन सुरु

बेनी— मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन सुरु भएको छ ।

गएराति अविरल वर्षासँगै कागखोलामा आएको बाढीले कागबेनीमा प्रहरी चौकी भवनसहित २० वटा घर बगाएको थियो । 

मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोले थुनिएपछि आएको बाढीले कागबेनीमा ठूलो भौतिक क्षति भएको हो । प्रहरीका अनुसार अहिलेसम्म ३६ घरमा बाढीले क्षति पुर्‍याएको छ । 

प्रहरी, जनप्रतिनिधि र स्थानीयले बिहानैदेखि बाढीको क्षतिको विवरण संकलन गर्न सुरु गरेका छन् । 

बाढीले स्थानीयको घर, पसल, होटल, प्रहरी चौकी भवन, वडा कार्यालयलगायत भौतिक संरचना बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।

कागबेनीमै आएर कालीगण्डकीमा मिसिएको कागखोलामा आएको बाढीले पवित्र धार्मिकस्थल कागबेनीधाममा रहेका धर्मशाला, मन्दिरसमेत बगाएको छ । 

‘रातमा बाढी आएपछि भागदौड गरेर स्थानीय ज्यान जोगाउन सफल भए, बाढीको वितण्डाले पूरै कागबेनीको जनजीवन अस्तव्यस्त बनेको छ,’ गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङले भने, ‘क्षतिको विवरण संकलन भइरहेको छ, घरबारबिहीनको आपतकालीन बसोबासका लागि पहल गरेका छौँ ।’

बाढीले घरहरू बगाएर बस्तीलाई बगरमा परिणत गरेको छ । यसैगरी कागबेनी गाउँभित्र रहेका अस्थायी काठेपुल र जोमसोम—कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुलसमेत बगाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १२:२७
Weather Update