
काठमाडौं— प्रशासनको गम्भीर लापरबाहीको कारण नेपाल कमर्स क्याम्पसमा ब्याचलर अफ बिजनेश स्टडिज (बीबीएस) दोस्रो वर्षमा अध्ययनरत ६३ जना विद्यार्थी वार्षिक परीक्षा दिनबाट बञ्चित भएका छन् ।
सोमबारबाट बीबीएस दोस्रो वर्षको परीक्षा सुरु भएको छ । तर उनीहरू परीक्षामा सहभागि हुन पाएनन् । कारण ६३ जना विद्यार्थीको परीक्षा फारम क्याम्पस मै छ । परीक्षा फारम त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बुझाएपछि मात्र प्रवेशपत्र आउँछ । फारम बल्खु नपुगेपछि ६३ जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका हुन् ।
क्याम्पसको गम्भीर लापरबाहीले आफूले परीक्षा दिन नपाएको भन्दै पीडित विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । क्याम्पस प्रशासन भने यस विषयमा मौन छ । स्रोतका अनुसार छात्रवृत्ति कोटामा फारम बुझाइदिने भन्दै विद्यार्थी नेताहरूबाट पीडितले आश्वास पाएका थिए । सोही अनुसार परीक्षा फारम भरेर उनीहरूले विद्यार्थी नेताहरूलाई बुझाए ।

तर शुल्क नबुझाएको भन्दै क्याम्पसले उक्त फारम बल्खु नपठाएको हो । स्रोत भन्छ, ‘यो प्रकरणमा विद्यार्थीबाट नेताहरूले पैसा लिएर फारम छात्रवृत्तिमा मिलाउन खोजेको देखिन्छ । क्याम्पस प्रशासन र विद्यार्थी नेताहरूको कुरो नमिलेपछि क्याम्पसले उनीहरू कै फारम रोकिदियो ।’
स्रोतका अनुसार यो प्रकरणमा सत्तारुढ पार्टी नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट अनेरास्ववियुका नेताहरू सामेल छन् । स्रोत भन्छ, ‘यति मात्र होइन अन्य विद्यार्थीहरू पनि पीडित छन् । यसमा छानविन हुनुपर्छ ।’
एमाले निकट अनेरास्ववियुका नेता बम रावलले भने यो घटनामा आफूहरूको संलग्नता नरहेको दाबी गरे । न्यूजगृहसँगको कुराकानीमा रावलले भने, ‘यो प्रकरणमा अनेरास्ववियु संलग्न छैन ।’ सङ्गठनले कारबाही गरेका व्यक्ति संलग्न हुन सक्ने तर्फ उनले संकेत गरे ।
अखिल क्रान्तिकारी कमर्स क्याम्पसका नेताहरू पनि फारम अनियमितता प्रकरणमा संगठनको संलग्नता नरहेको दाबी गर्छन् ।
स्रोतले यो प्रकरणमा नेविसङ्घकानेताहरूसमेत संलग्न रहेको दाबी गरेको थियो । तर नेविसङ्घ नेपाल कमर्स क्याम्पस अध्यक्ष सरोज तिमल्सिनाले न्यूजगृहसँगको कुराकानीमा यसमा आफ्नो संगठनको संलग्न नभएको बताएका थिए । उनले भने, ‘यो प्रकरणमा नेविसङ्घको संलग्नता छैन । कोही संलग्न भए हामी कारबाही गर्छौँ ।’
प्रहरी भन्छ उजुरी आए कारबाही गर्छौ
परीक्षा दिन नपाएपछि आक्रोशित बनेका विद्यार्थीहरूले आन्दोलन गरेपछि प्रहरी वृत्त तीनकुनेबाट प्रहरी टोली खटिएको थियो । घटनाबारे बुझ्न वृत्तले प्रहरी निरीक्षक (इन्स्पेक्टर) श्याम थापालाई खटायो ।
न्यूजगृहसँग कुरा गर्दै इन्स्पेक्टर थापाले फारम बुझाउने प्रक्रियामा अनियमितता भएको पुष्टि गर्दै पीडितले प्रहरीमा उजुरी नगरेको बताए । उजुरी आएको खण्डमा आफूहरू अनुसन्धान गर्न तयार रहेको इन्स्पेक्टर थापाले बताए । क्याम्पसभित्रको घटना भएकोले आफूहरूले नै यो प्रकरण टुङ्ग्याउने प्रशासनले बताएको उनले बताए । ‘ठ्याक्कै पीडितको संख्या यकिन भएको छैन । उजुरी पनि आएको छैन । क्याम्पस प्रमुखले हामी मिलाउँछौं भन्नुभएको छ,’ इन्स्पेक्टर थापाले भने ।
क्याम्पस प्रमुख ध्रुव सिलवालले भने आफू मिटिङमा रहेको र पछि कुरा गर्ने भन्दै पन्छिए ।













