
काठमाडौं– नेकपा एमालेले आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।
शनिबार बसेको एमाले सचिवालयको बैठकले चितवन २ र तनहुँ १ को उम्मेदवार चयन गरेको हो । बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीको सिफारिसमा दुवै जनालाई उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरिएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यसअघिका उम्मेदवार एकबहादुर गुरुङ र तनहुँका सिनियर नेता किरण गुरुङले उपचुनावमा नउठ्ने भनेपछि खनालले उम्मेदवार हुनका लागि एमाले तनहुँ जिल्ला कमिटीमा निवेदन दिएका थिए ।
चितवन २ मा उम्मेदवार बन्न लागेका न्यौपाने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुन् । एमाले कमिटीले न्यौपानेलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले बारा-२ का लागि भने उम्मेदवार टुंग्याउन सकेको छैन । एमालेले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भने भोलि (आइतबार) सम्म उम्मेदवार तय गर्ने जनाएको छ ।
त्यहाँको तरल राजनीतिक अवस्थाका कारण आज र भोलिसम्म थप छलफल गरेर सो क्षेत्रमा उम्मेदवार तय गर्ने निर्णय पनि बैठकले गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए । त्यसका लागि आवश्यक छलफल गरेर निर्णय लिने जिम्मेवारी भने बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
यसैगरी एमालेले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि ठोस, सार्थक र शीघ्र पहल गर्न सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ ।
यो पनि पढ्नुहोस














