काठमाडौं— नेकपा माओवादी केन्द्रले संघीय मामिला मन्त्रीबाट अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।
मोदीको ठाउँमा जनमत पार्टीकी अनितादेवी साहले पद तथा गोपनियताको शपथ लिएकी छन् । सोमबार बिहान १० बजे अनितादेवीले राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिएकी हुन् ।
पार्टीबाट फिर्ता बोलाएसँगै मोदीले मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफूले गरेका कामबारे जानकारी गराएका छन् । निजामति प्रशासनको नेतृत्व गरेका मोदीले मन्त्रालयको नेतृत्व सम्हालेको करिब आठ महिनामा कर्मचारीहरूबाटै सहयोग नपाएको गुनासो गर्दै आएका थिए ।
मोदी २०७९ माघ ३ गते मन्त्रीमा नियुक्त भएका थिए । यसबीच उनले प्रशासन क्षेत्रमा सुधार गर्न केही नयाँ निर्णयको घोषणा गरेका थिए ।
दुर्गमका कर्मचारी सुगम पठाउन, सुगमका कर्मचारी दुर्गम पठाउन, कर्मचारी सरुवामा सिस्टम बसाउन, निमित्तलाई अन्त्य गर्ने, काज फिर्ता गर्नेलगायतका विषयमा उनले निर्णय गरेका थिए ।

















