News Griha :: न्यूजगृह
प्रधानमन्त्रीले भने : बुढीगण्डकी जलविद्युतको शिलान्याश छिट्टै हुन्छ 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै बुढीगण्डकी जलविद्युत आयोजना शिलान्याश हुने बताएका छन् । उनले स्थानीयको माग सम्बोधन गरी आयोजनाको शिलान्याश गरिने बताएका हुन् ।

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डलसँग सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको परियोजना भएकाले शीघ्र अघि बढाउने बताए । साउन ३ गते उक्त आयोजनाको फिल्ड कार्यालय उद्घाटन भइसकेको छ ।

प्रधानमन्त्रीले आयोजना प्रभावित स्थानीयले मुआब्जालगायतका विषयमा उठाएका माग सम्बोधन गर्ने र उनीहरूलाई समेत विश्वासमा लिएर अगाडि बढाउने विश्वास दिलाएको गण्डकी गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले बताए ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले गोरखाको धौवादीघाटको पुल निर्माणलाई पनि छिट्टै अगाडि बढाइने बताए । त्रिशुली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएको झोलुङ्गे पुलको पुनःनिर्माण समेत तत्काल शुरु गर्ने उनको भनाइ थियो ।

गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल त्रिशुलीको बाढीले क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ११:३३
Weather Update