News Griha :: न्यूजगृह
जनमत पार्टी नौ महिनामा दोस्रोपटक सरकारमा सहभागी, अनितादेवी बनिन् मन्त्री

काठमाडौं— जनमत पार्टीबाट सामान्य प्रशासन मन्त्रीमा अनितादेवी साह नियुक्त भएकी छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयता सपथ गराएका हुन् ।

मंसिरमा भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनबाट उदाएको राष्ट्रिय जनमत पार्टी पछिल्लो नौ महिनामा दोस्रोपटक सरकारमा सहभागी भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा पुसमा सहभागी भएको जनमत पार्टी चैतमा बाहिरिएको थियो । 

आफूले खोजेको उद्योग मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको जनमत चार पहिनापछि पुनः सरकारमा सहभागी भएको हो । अनितालाई सरकारमा सहभागी गराउन माओवादी केन्द्रले पार्टी नेता अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको थियो ।

तत्कालिन खानेपानी मन्त्री अब्दुल खानले आफूले पाएको खानेपानी मन्त्रालय प्रति असन्तुष्टि जनाउँदै २०७९ चैतमा राजीनामा दिएका थिए । मन्त्री मण्डल पुनगर्ठनमा प्रधानमन्त्रीले उनलाई पुनः खानेपानीमै राखेपछि जनमत असन्तुष्ट भएको थियो ।

प्रधानमन्त्रीले जनमतलाई सुरुमा मागेको मन्त्रालय दिने आश्वासन दिएका थिए । तर, राष्ट्रपति कार्यालयमा नाम पठाउँदा जनमतलाई पुनः खानेपानीमै राखेका थिए । त्यसपछि जनमत असन्तुष्ट बन्दै सरकारबाट बाहिरिएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १०:५२
Weather Update