News Griha :: न्यूजगृह
सप्तकोशीमा पानीको बहाब यसवर्षकै उच्च मापन, ५६ वटै ढोका खोलियो
फाइल तस्बिर ।

सप्तरी— सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाब यसवर्षकै उच्च मापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा पानीको बहाब उच्च भएको हो ।

पानीको बहाब उच्च भएपछि अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको जनाइएको छ । प्रहरी नायब उपरीक्षक सिंहले ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जानकारी दिँदै आज बिहान ४ बजे पानीको बहाब चार लाख ६२ हजार क्युसेक मापन भएको बताए । यद्यपि पानीको बहाब केही घट्दो क्रममा रहेको छ ।

सप्तकोशीमा सन् १९८९ मा चार लाख ७२ हजार क्युसेक मापन भएको थियो । आज बिहान पनि चार बजे चार लाख ६२ हजार क्युसेक मापन गरिएको कोशी ब्यारेज कल्टोलरुमले जनाएको छ ।

३४ वर्षपछि यसवर्ष कोशीमा पानीको बहाब उच्च देखिएको हो । पानीको बहाब उच्च भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०९:२४
Weather Update