News Griha :: न्यूजगृह
यस्तो छ शिक्षक महासंघले देशभर आन्दोलन गर्नुको कारण

काठमाडौं— सरकारबाट संघीय संसदमा पेस गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरूको सही सम्बोधनका लागि दबाब दिन नेपाल शिक्षक महासंघले देशभर आन्दोलन सुरु गरेको छ ।

महासंघको आयोजनामा आइतबार शिक्षक तथा कर्मचारीले देशका सबै पालिकामा तीनघण्टे धर्ना कार्यक्रम गरे ।

महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार आबद्ध संस्था र मातहतका कमिटीमार्फत धर्ना सञ्चालन गरिएको र यही साउन ३० गते जिल्ला र ३२ गतेका प्रदेशस्तरीय दबाब कार्यक्रम सञ्चालन हुनेछ ।

महासंघले विगतमा भएको सहमतिका आधारमा राहत र उमावि शिक्षकको स्थायित्व, सिकाइ अनुदान, सेवासुविधा, श्रमिक अधिकार आदि सवालमा कुनै परामर्श नगरी विधेयक तयार गरिएकामा असन्तुष्टि जनाएको छ ।

जिल्ला समन्वय इकाइमा धर्ना

साउन ३० गते मंगलबार देशका हरेक जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा सम्बन्धित जिल्लाका शिक्षक तथा कर्मचारी उपस्थित भई ३ घण्टा (११ः०० बजे देखि २:०० बजेसम्म) धर्ना दिने ।

धर्नाको समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रतिसहित केन्द्रबाट पठाएको जानकारी पत्र पेस गर्ने । 

कार्यक्रमको संयोजन महासंघको जिल्ला समिति तथा यसका आबद्ध/सम्बद्ध संस्थाका जिल्ला समितिले गर्ने ।

प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना

साउन ३२ गते मंगलबार सबै प्रदेशका महासंघ तथा यसका आबद्ध/सम्बद्ध संस्थाका प्रदेश समिति तथा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू जम्मा भई प्रदेशको सामाजिक विकास मन्त्रालयमा ३ घण्टा (११ः०० बजे देखि २ः०० बजेसम्म) धर्ना दिने ।

धर्नाको समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रतिसहित केन्द्रबाट पठाएको जानकारी पत्र पेस गर्ने । कार्यक्रमको संयोजन महासंघको प्रदेश समिति तथा आबद्ध/सम्बद्ध संस्थाका प्रदेश समितिले गर्ने ।

संसद् सदस्यलाई जानकारी तथा पक्षीकरण

भदौ १ गते शुक्रबार सबै प्रदेश तथा संघीय सांसदसमक्ष सम्बन्धित जिल्लाका महासंघ तथा आबद्ध/सम्बद्ध संस्थाका नेतृत्वले ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति बुझाउँदै संघीय शिक्षा ऐन निर्माणमा विद्यालय शिक्षा र शिक्षक–कर्मचारीका मागमुद्दाको पक्षीकरणमा सहयोग गर्न आग्रह गर्ने ।

केन्द्रमा पक्षीकरण

यो अवधिमा महासंघ राष्ट्रिय समिति तथा आबद्ध/सम्बद्ध संस्थाको मुख्य नेतृत्वले नेपाल सरकार, राजनीतिक दलका मुख्य नेता, संसदीय दलका प्रमुख सचेतक, संसदको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिका सांसदहरुसँग अन्तरक्रिया, भेटघाट, छलफल तथा पक्षीकरण गर्ने ।

दोस्रो चरण 

काठमाडौंमा बृहत् प्रदर्शन

नयाँ संघीय शिक्षा संसदमा दर्ता भएको पाँचौं दिनबाट देशभरिका शिक्षक तथा कर्मचारी उपस्थित भई काठमाडौंमालगातार बृहत् विरोध प्रदर्शन गर्ने ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०७:१२
Weather Update